काठमाडौं । नेकपा (एमाले) भित्र चुलिँदै गएको आन्तरिक शक्ति संघर्षका बीच अध्यक्ष केपी शर्मा ओली ले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी सँगको राजनीतिक दूरी कम गर्ने रणनीति अघि सारेका छन् ।
पार्टीका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लगायत आफ्नै निकट मानिएका नेताहरूबाट घेराबन्दी बढ्न थालेपछि ओलीले भण्डारीसँग संवाद र सहकार्यलाई तीव्र बनाएको एमालेभित्र चर्चा सुरु भएको छ ।
पार्टीभित्र आफूविरुद्ध नेतृत्व परिवर्तन, राजीनामा र पुनर्गठनको तयारी भइरहेको संकेत पाएपछि ओलीले भण्डारीलाई साथमा लिएर आफ्नो राजनीतिक संकट व्यवस्थापन गर्न खोजेको नेताहरूको बुझाइ छ । गत वर्ष एमालेले ११औँ महाधिवेशनको तयारीका क्रममा भण्डारीले नेतृत्वमा दाबी गर्न सक्ने आशंकाबीच उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा महासचिव पोखरेल र उपाध्यक्ष पौडेलले समेत समर्थन गरेका थिए ।
तर, पछिल्लो समय तिनै नेताहरू ओलीलाई नेतृत्वबाट हटाउने रणनीतिमा सक्रिय देखिएपछि अध्यक्ष ओलीले एकाएक आफ्नो राजनीतिक लाइन परिवर्तन गरेको विश्लेषण गरिएको छ ।
पित्तथैलीको शल्यक्रियापछि भक्तपुरको गुन्डुस्थित निवासमा स्वास्थ्य लाभ गरिरहेका ओलीलाई भेट्न गत वैशाख २७ गते पूर्वराष्ट्रपति भण्डारी पुगेकी थिइन् । दुई नेताबीच झण्डै दुई घण्टा लामो गोप्य छलफल भएको स्रोतहरूको दाबी छ । एमाले निकट स्रोतका अनुसार पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीमार्फत ओलीकै विशेष पहलमा भण्डारीलाई भेटका लागि निम्तो पठाइएको थियो ।
त्यसयता भण्डारीलाई एमालेका औपचारिक कार्यक्रममा पुनः सक्रिय रूपमा प्रस्तुत गर्न थालिएको छ । बल्खुमा आयोजित स्मृति सभामा भण्डारीलाई प्रमुख अतिथिका रूपमा मञ्चको केन्द्रमा राखिएको थियो । कार्यक्रममा एमालेका उपाध्यक्षत्रय रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायत शीर्ष नेताहरूको उपस्थिति थियो ।
गत वर्षसम्म पार्टीका औपचारिक फोरमहरूमा लगभग निषेधजस्तै अवस्थामा रहेकी भण्डारीलाई अहिले प्रमुख अतिथि बनाइनुलाई एमालेभित्र बदलिँदो शक्ति समीकरणको संकेतका रूपमा हेरिएको छ । अझ रोचक पक्ष त के छ भने, भण्डारीको सदस्यता नवीकरणमा लगाइएको रोक फुकुवा गर्ने औपचारिक निर्णय एमालेले अझै गरेको छैन ।
राजनीतिक विश्लेषकहरूका अनुसार ‘एक पक्षलाई दबाबमा राख्न अर्को पक्षसँग सहकार्य गर्ने’ शैली अध्यक्ष ओलीको पुरानै राजनीतिक रणनीति हो । उनले दलभित्र मात्रै होइन, राष्ट्रिय राजनीति र क्षेत्रीय भू–राजनीतिमा समेत सन्तुलनको राजनीति प्रयोग गर्दै आएका छन् । नेपालको आन्तरिक राजनीतिमा कुनै एक शक्ति केन्द्रको दबाब बढेको महसुस हुनासाथ अर्को शक्ति केन्द्रसँग सम्बन्ध सुदृढ गरेर आफ्नो राजनीतिक प्रभाव कायम राख्ने प्रयास ओलीको शैलीका रूपमा चर्चा हुँदै आएको छ ।
प्रतिक्रिया