प्रधानमन्त्री संसद्मा नआए बैठकबाट बाहिरिने साम्पाङको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८३, शुक्रबार ०५:२६

काठमाडौं । हर्कराज राई (साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभए आफ्नो दल बैठकबाट बाहिरिने चेतावनी दिएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद राईले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएको तथा कार्यक्रम प्रस्तुत गर्न अर्थमन्त्रीलाई तोकिएको विषयप्रति आपत्ति जनाए। उनले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर सांसदहरूको जिज्ञासाको जवाफ दिनुपर्ने बताए।

“यदि उहाँ आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन। आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन,” सांसद राईले बैठकमा भने।

श्रम संस्कृति पार्टी ले बुधबारको संसद् बैठक पनि बहिष्कार गरेको थियो। साम्पाङले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफल सुन्न नआए पनि जवाफ दिने क्रममा भने संसद्मा उपस्थित हुने विश्वास व्यक्त गरे।

“म माग गर्न चाहन्छु– उहाँ यहाँ उपस्थित भएर, उहाँले छलफल सुन्नुभएन, तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु,” उनले भने।

सांसद राईले संसद्‌प्रति सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने भन्दै प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरे।

प्रतिक्रिया

slot gacor