करेन्ट र लाली चाउचाउको बिक्री–वितरणमा प्रतिबन्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८३, शुक्रबार ०५:२२

काठमाडौं । यशोदा फूड्स द्वारा उत्पादित करेन्ट र लाली चाउचाउको बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका ती चाउचाउका नमुना परीक्षणका क्रममा गुणस्तर मापदण्डअनुसार स्वच्छ नदेखिएको भन्दै बिक्री–वितरण नगर्न तथा बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो।

विभागका अनुसार करेन्ट चाउचाउको ब्याच नम्बर ०४ ए मा उत्पादित १०० ग्रामको प्याकेटमा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार ‘एक्सट्राक्टेड फ्याट एसिड भ्यालु’ नपाइएको पाइएको छ। त्यसपछि उक्त ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको हो।

त्यस्तै यशोदा फूड्स कै ०२ ए ब्याचमा उत्पादित ५० ग्रामको लाली चाउचाउमा पनि सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार ‘एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु’ नभेटिएको विभागले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार जारी गरेको आदेशमा उत्पादित खाद्य पदार्थमा ‘एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु’ नेपाल सरकारले तोकेको मापदण्डअनुसार नपाइएको उल्लेख गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा सोही दफाको उपदफा (४) अनुसार बिक्री–वितरण नगर्न निर्देशन दिएको जनाएको छ।

यशोदा फूड्स ले लाली र करेन्टसँगै जुप्पी, कालिज, गोलु, ओप्पो लगायतका चाउचाउ उत्पादन गर्दै आएको छ। साथै चीजबल्स, कुरकुरे र भुजियासहित ४० भन्दा बढी प्रकारका खाद्य सामग्री उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ। बजारमा लाली चाउचाउ पिरो तथा मसलादार स्वादमा प्रतिगोटा २० रुपैयाँमा बिक्री हुँदै आएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्रोतका अनुसार यशोदा फूड्सद्वारा उत्पादित चीजबल्स, कुरकुरे र भुजियाको गुणस्तर सम्बन्धी उजुरी पनि प्राप्त भएको छ। विभागका एक उच्च अधिकारीका अनुसार ती उत्पादनहरूको गुणस्तर परीक्षण प्रक्रिया पनि जारी रहेको छ।

यशोदा फूड्स का सञ्चालकहरू चुन्नु पौडेल, ऋषिराम भण्डारी, नरीश्वर पौडेल र कमल मालपानी रहेका छन्।

प्रतिक्रिया

slot gacor