काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा टिप्पणी गर्दै यसलाई “महत्त्वाकांक्षी र अराजक जमातको गठजोड” को संज्ञा दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता बादलले रास्वपाको उदय, राजनीतिक शैली र वर्तमान गतिविधिमाथि गम्भीर प्रश्न उठाएका हुन्।
उनले रास्वपाले प्राप्त गरेको लोकप्रियता स्वाभाविक राजनीतिक विकास नभई प्रविधिको दुरुपयोग र वैदेशिक प्रभावको परिणाम भएको आरोप लगाए।
“रास्वपा र यसको नेतृत्वले पाएको सफलता दशकौँदेखि सत्ताधारी दलहरूले गरेका कमजोरीमा खेलिएको एआई जादु र विश्व भू–राजनीतिका अदृश्य शक्तिहरूको प्रभाव मात्र हो,” उनले संसद्मा भने।
सम्बोधनका क्रममा नेता बादलले वर्तमान सरकारको नियतमाथिसमेत प्रश्न उठाए। संसद् अधिवेशन अन्त्य गरी एकैपटक आठ वटा अध्यादेश ल्याइनुलाई उनले प्रशासन र न्यायतन्त्रमाथि एकल प्रभुत्व जमाउने रणनीतिक कदमका रूपमा व्याख्या गरे।
उनले सरकार लोकतान्त्रिक प्रक्रियाभन्दा अध्यादेशमार्फत शासन सञ्चालनतर्फ उन्मुख भएको आरोप लगाए।
नेता बादलले रास्वपाले आगामी निर्वाचनमार्फत राज्यका सबै तहमा एकल नेतृत्व स्थापित गर्ने महत्वाकांक्षा बोकेको दाबीसमेत गरे।
उनका अनुसार यस्तो प्रवृत्तिले लोकतान्त्रिक सन्तुलन, शक्ति पृथकीकरण र बहुदलीय व्यवस्थामा जोखिम उत्पन्न गर्न सक्छ।
उनले लोकतन्त्रमा शक्ति सन्तुलन, संस्थागत मर्यादा र राजनीतिक उत्तरदायित्वलाई कमजोर बनाउने कुनै पनि प्रवृत्ति राष्ट्रका लागि घातक हुन सक्ने चेतावनी दिए।
प्रतिक्रिया