सरकारको नीति तथा कार्यक्रम आज संसद्मा प्रस्तुत हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०८३, सोमबार ०६:१९

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सोमबार संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम तय गरिएको छ।

यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्नेछ। आजैदेखि संघीय संसद्को बजेट अधिवेशन पनि औपचारिक रूपमा सुरु हुँदैछ।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ७ अनुसार बजेट अधिवेशनमा राष्ट्रपतिमार्फत सरकारको नीति तथा कार्यक्रम संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था रहेको छ। राष्ट्रपतिबाट वाचन भएपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने प्रक्रिया अघि बढाइनेछ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरी ले राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार अतिथि व्यवस्थापनदेखि सुरक्षा तयारीसम्मका सबै काम सम्पन्न भइसकेका छन्।

यसैबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सरकारको आगामी नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रअनुसार तयार गरिएको बताएका छन्।

“हाम्रो पार्टीको वाचापत्रअनुसार नै आगामी नीति तथा कार्यक्रम र बजेट आउँछ,” अर्थमन्त्री वाग्लेले बताएका छन्।

३० वैशाखमा पारित गर्ने तयारी

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार २८ वैशाखमा नीति तथा कार्यक्रम संसद्मा टेबुल गरिनेछ भने ३० वैशाखमा त्यसमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ।

बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश संसद्मा पेस गर्ने कार्यक्रम छ। साथै राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ।

त्यसैगरी:

  • प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गरिने
  • बैठक अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने
  • बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गरिने

कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सरकारले बजेट अधिवेशनमा कम्तीमा ४५ वटा विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ। साथै अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक पनि ल्याइने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply