काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा कृषक महिला समूहलाई लक्षित गर्दै कौसी खेती सम्बन्धी तालिम प्रदान गरिएको छ। नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा ६० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो।
तालिममा आधुनिक कौसी खेती प्रविधि, तरकारी उत्पादन, जैविक मलको प्रयोग, बीउ व्यवस्थापन तथा घरमै स्वस्थ र ताजा तरकारी उत्पादन गर्ने तरिकाबारे जानकारी दिइएको थियो।
कार्यक्रमसँगै सहभागीहरूलाई आवश्यक कृषि औजार तथा विभिन्न प्रजातिका बिउसमेत वितरण गरिएको आयोजकले जनाएको छ। प्रशिक्षकहरूले सीमित स्थानको सदुपयोग गर्दै घरको छत तथा कौसीमा तरकारी खेती गर्न सकिने र यसबाट परिवारको पोषण सुधारसँगै अतिरिक्त आम्दानी गर्न सकिने बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रकाश फुयाल ले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्। उनले उत्कृष्ट कृषकलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरिने जानकारीसमेत दिएका थिए।
सहभागी महिलाहरूले तालिम निकै उपयोगी रहेको बताउँदै सिकेका सीपलाई व्यवहारमा उतारेर कौसी खेतीलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालिम कार्यक्रममा वडासदस्य बिकाश केसी, रूपमती सापकोटा लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया