न्यायालयको प्रतिष्ठालाई सडकको विषय नबनाउन रवि लामिछानेको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०८३, सोमबार ०५:५५

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले न्यायालयको प्रतिष्ठालाई “सडकको विषय” नबनाउन चेतावनी दिएका हुन्।

रास्वपाले आयोजना गरेको सांसदहरूको दुईदिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै लामिछानेले भने, “मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्धन अझै पनि त्यहीँ छ। त्यस्तै रिस उठेको छ भने चलाइदिनुस् हतियार। होइन भने न्यायालयको प्रतिष्ठालाई सडकको विषय नबनाउनुस्।”

उनले नयाँ प्रधानन्यायाधीश सिफारिस संवैधानिक परिषद्को निर्णयअनुसार भएको स्पष्ट पारे। संवैधानिक प्रक्रियाबाट गरिएको निर्णयलाई असंवैधानिक भन्न नमिल्ने उनको तर्क थियो।

“संवैधानिक परिषद्को निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ। म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो ?” उनले भने।

लामिछानेले आफूहरू सरकारमा आउनुअघि नै न्यायाधीशहरूको नाम ‘सर्टलिस्ट’ भइसकेको दाबी गर्दै विधि र प्रक्रियाअनुसार नै सिफारिस गरिएको बताए। उनले ६ सदस्यीय परिषद्मध्ये ४ जनाको मतबाट भएको निर्णयलाई संविधानविपरीत भन्न नसकिने उल्लेख गरे।

सुकुमवासीलाई लालपुर्जा दिने प्रतिबद्धता

सभापति लामिछानेले भूमिहीन सुकुमवासीको समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन्। उनले अव्यवस्थित रूपमा बसोबास गरिरहेका भूमिहीन नागरिकलाई लालपुर्जा उपलब्ध गराएरै छाड्ने बताए।

उनले भने, “खोलाको छेउमा अव्यवस्थित र असुरक्षित ढंगले बस्नुभएका नागरिकको समस्या समाधान गर्छौं। भूमिहीनले जग्गा नपाएसम्म हामी छाती थापेर उभिन्छौं।”

उनले विगतका सरकारहरूले समस्या दीर्घकालीन रूपमा समाधान गर्न नसकेको आरोप लगाउँदै रास्वपाले स्थायी समाधान खोज्ने दाबी गरे।

‘जीवनी होइन, इतिहास लेख्न राजनीतिमा आएको हुँ’

सम्बोधनका क्रममा लामिछानेले आफू राजनीतिमा व्यक्तिगत जीवनी बनाउन नभई “इतिहास लेख्न” आएको बताएका छन्।

“कसैलाई लाग्ला म मन्त्री वा प्रधानमन्त्री बन्न आएको हुँ, त्यो भ्रम हो। म जीवनी लेख्न हिँडेको होइन, इतिहास लेख्न आएको हुँ,” उनले भने।

उनले पार्टीका सांसदहरूलाई पनि केवल व्यक्तिगत राजनीतिक भविष्यको सोचमा सीमित नहुन सुझाव दिए। रास्वपाले निर्वाचनमा प्राप्त गरेको जनसमर्थनलाई नयाँ राजनीतिक अध्यायको सुरुवात भएको उल्लेख गर्दै पुराना दलको तुलनामा आफूहरूले फरक राजनीतिक अभ्यास गरिरहेको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply