डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०८३, शुक्रबार ०६:००

काठमाडौं। डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। बिहीबार बसेको न्याय परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशका लागि अघि सारेको हो।

रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको नेपालको न्यायिक इतिहासमै यो पहिलो घटना मानिएको छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन्।

यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण गत १८ चैत २०८२ मा अवकाश भएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मीहरि फुयाललाई पछि पार्दै चौथो वरियतामा रहेका शर्माको नाम अघि बढाइएको हो।

पर्सामा जन्मिएका डा. शर्मा श्रम कानुन विषयमा विद्यावारिधि प्राप्त अनुभवी कानुनविद् हुन्। नेपाल र भारतबाट उच्च शिक्षा हासिल गरेका उनले सन् १९९५ देखि करिब दुई दशक अधिवक्ताका रूपमा अभ्यास गरेका थिए।

सन् २०१३ मा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशबाट न्यायिक सेवामा प्रवेश गरेका शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।

उनी व्यावसायिक तथा श्रम कानुनका क्षेत्रमा दख्खल राख्ने न्यायाधीशका रूपमा परिचित छन्। ४ असार २०२७ मा जन्मिएका शर्मा ३ असार २०९२ मा ६५ वर्ष पुग्नेछन्। अनुमोदन भएमा उनले करिब ६ वर्ष प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया

Leave a Reply