काठमाडौं। गगनकुमार थापाले सरकारले संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्न ठूलो “प्रपञ्च” रचिरहेको आरोप लगाएका छन्।
बुधबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आफू निकट व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यले जालझेल गरिरहेको बताएका हुन्।
उनले बिहीबार साँझ ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकप्रति संकेत गर्दै सरकारको नियतमाथि प्रश्न उठाए।
“प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने विषयमा एउटा सोच बनाएर पात्र प्रस्तुत गर्ने, त्यसलाई बहुमतका आधारमा पारित गराउने प्रयास भइरहेको छ,” थापाले भने।
उनका अनुसार प्रधानमन्त्री, सभामुख र कानुनमन्त्रीको समर्थनलाई बहुमतका रूपमा प्रयोग गरी “खल्तीबाट निकालिएको नाम” अनुमोदन गराउने प्रयास भइरहेको छ।
थापाले विगतमा पनि प्रधानमन्त्रीहरूले आफ्ना अनुकूल व्यक्तिलाई संवैधानिक नियुक्तिमा ल्याउन खोजेको उल्लेख गर्दै त्यसबेला प्रतिपक्षले रोक्न सफल भएको दाबी गरे। तर अहिले अध्यादेशमार्फत कानुनी व्यवस्था परिवर्तन गरिएकाले रोक्न कठिन भएको उनको भनाइ थियो।
“पहिले पनि यस्तै प्रयास भएको थियो, हामीले रोकेका थियौं। अहिले अध्यादेश ल्याएर बाटो खोलिएको छ। यो अत्यन्त आपत्तिजनक छ,” उनले भने।
सरकारले हालै जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार अब परिषद्को बैठकमा ६ सदस्यीय परिषद्मध्ये ४ जना उपस्थित भए गणपूरक संख्या पुग्ने र ३ जनाको बहुमतले निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।
यस विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक विवाद थप चर्किएको छ।
प्रतिक्रिया