काठमाडौं। रुकुम (पूर्व) मा सञ्चालित कागती खेतीसम्बन्धी सरकारी कार्यक्रम व्यापक अनियमिततामा फसेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–१२, छमारीमा सञ्चालन गरिएको “कागती पकेट विकास कार्यक्रम” अन्तर्गत कागजमै काम देखाएर रकम हिनामिना गरिएको ठहर गरिएको हो। उक्त मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरिएको हो।
यो कार्यक्रम आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संघीय सशर्त अनुदानबाट सञ्चालन गरिएको थियो। योजना कार्यान्वयनका लागि पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि.सँग २०७७ चैत २५ गते सम्झौता गरिएको थियो।
तर, अख्तियारको अनुसन्धानले फिल्डमा काम नगरी नापी किताबमा काम भएको देखाई बढी मूल्याङ्कन गरेर रकम भुक्तानी लिएको खुलासा गरेको छ। यसरी कुल रु. ११ लाख ६९ हजार ७६० बराबरको सरकारी रकम दुरुपयोग भएको पुष्टि भएको छ।
अनुसन्धानअनुसार, वास्तविक काम नगरी कागजमै विवरण तयार गरी सरकारी सम्पत्तिमा हानि पुर्याइएको छ।
यस प्रकरणमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव, इन्जिनियर खुविराज शाही, सब–इन्जिनियर कमल प्रसाद केसी, योजना शाखाका कर्मचारी, कृषि प्राविधिक, सह–लेखापाल लगायत संलग्न रहेको अख्तियारले जनाएको छ।
त्यसैगरी वडा अध्यक्ष गंगा बहादुर पुन तथा योजना कार्यान्वयनमा संलग्न निजी कम्पनीसमेत आरोपित सूचीमा समावेश गरिएको छ।
अख्तियारले सरकारी अनुदानको दुरुपयोग गर्दै योजनालाई कागजी रूपमा मात्रै कार्यान्वयन गरिएको निष्कर्षसहित दोषीहरूमाथि कानुनी कारबाही अघि बढाएको जनाएको छ।
प्रतिक्रिया