टोखा नगरपालिका र प्रहरीबीच सिसिटिभी जडान सम्झौता, ५० लाख बजेट विनियोजन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८३, मंगलवार ०६:०६

काठमाडौं। टोखा नगरपालिकाकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी बीच सिसिटिभी क्यामेरा जडानका लागि सम्झौता भएको छ।

नगरपालिकाको ५० लाख रुपैयाँ लागतमा सञ्चालन हुने यस परियोजनाअन्तर्गत सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का आह्वान गरी काम अघि बढाइनेछ।

सम्झौताअनुसार पहिलो चरणमा नगरपालिकाले डिजाइन, स्पेसिफिकेसन तथा लागत अनुमान तयार गरी कुल बजेटको ५० प्रतिशत रकम प्रहरी कार्यालयलाई उपलब्ध गराउनेछ। ठेक्का प्रक्रियामार्फत निर्माण कार्य सम्पन्न भएपछि बाँकी रकम निकासा गरिने व्यवस्था गरिएको छ।

नगर प्रमुख प्रकाश अधिकारी का अनुसार सिसिटिभी जडानले नगर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण र सार्वजनिक सम्पत्ति संरक्षणजस्ता क्षेत्रमा प्रभावकारी सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई ले यस योजनाले शहरी सुशासन, ट्राफिक व्यवस्थापन, रात्रीकालीन आवागमन नियन्त्रण तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

सम्झौताअनुसार सिसिटिभी जडान गरिने स्थानमा आवश्यक सडक बत्ती तथा विद्युत् व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिनेछ भने सर्भेलेन्स प्रणाली प्रहरी कार्यालयमै सञ्चालन हुनेछ।

सम्झौतामा नगर प्रमुख प्रकाश अधिकारी र प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की ले हस्ताक्षर गरेका छन्। साक्षीका रूपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई र प्रहरी कार्यालयका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

परियोजनाको ठेक्का प्रक्रिया सम्पन्न भएपछि निर्माण कार्यको समयसीमा निर्धारण गरिने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply