काठमाडौं। स्वास्थ्य निर्देशनालय बागमती प्रदेश र जनस्वास्थ्य कार्यालय काठमाडौं को आयोजनामा तथा कागेश्वरी मनोहरा नगरपालिका को समन्वयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ।
पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिमले स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्दै समुदायस्तरमा प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता बढाउने लक्ष्य राखेको थियो।
तालिममा मातृ तथा शिशु स्वास्थ्य, पोषण, खोप सेवा, परिवार नियोजन, सरसफाइ तथा रोग नियन्त्रणजस्ता विषयहरूमा अद्यावधिक ज्ञान प्रदान गरिएको थियो। साथै, समुदायमा देखिने स्वास्थ्य समस्याको पहिचान, प्रारम्भिक परामर्श र आवश्यक सन्दर्भ सेवातर्फ मार्गदर्शन गर्ने सीप विकासमा विशेष जोड दिइएको थियो।
कार्यक्रमका क्रममा सहभागी स्वयंसेविकाहरूलाई व्यवहारिक अभ्यास, समूह छलफल र अनुभव आदान–प्रदानमार्फत सिकाइलाई अझ प्रभावकारी बनाइएको आयोजकले जनाएको छ।
स्वास्थ्य सेवाको पहिलो आधारका रूपमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समयानुकूल ज्ञान र सीपले सशक्त बनाउनु अत्यावश्यक रहेको उल्लेख गर्दै आयोजक पक्षले यस्ता तालिमले स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रवाहलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया