वायुसेवा निगममा ५ सञ्चालक सदस्यका लागि दरखास्त आह्वान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८३, मंगलवार ०५:२३

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले नेपाल वायुसेवा निगम मा रिक्त रहेका पाँच जना सञ्चालक समिति सदस्य पदका लागि औपचारिक रूपमा दरखास्त आह्वान गरेको छ।

यसअघि मन्त्रालयले वैशाख १२ गते गोरखापत्र राष्ट्रिय दैनिकमार्फत चार सदस्य पदका लागि आवेदन माग गरेको थियो। तर, आवेदन प्रक्रिया चलिरहेकै अवस्थामा कानुनी व्यवस्थामा आएको परिवर्तनका कारण रिक्त पद संख्या थपिएको हो।

वैशाख १९ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार निगमका थप एक जना सदस्य पनि स्वतः पदमुक्त भएपछि अब कुल पाँच सदस्य नियुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्य का अनुसार साविककै विज्ञापनको आधार र प्रक्रिया कायम राख्दै अब पाँचै जना सदस्यको छनोट प्रक्रिया अगाडि बढाइनेछ।

निगमको सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयले अनुभवी र योग्य विज्ञहरूको खोजी गरिरहेको जनाएको छ। अध्यादेशका कारण थपिएको पदसमेत समेटेर एकीकृत रूपमा नियुक्ति प्रक्रिया टुङ्ग्याइने तयारी गरिएको छ।

राष्ट्रिय ध्वजावाहक संस्थाको व्यावसायिक सुधार, रणनीतिक योजना निर्माण र व्यवस्थापन सुदृढीकरणमा सञ्चालक समितिका सदस्यहरूको महत्वपूर्ण भूमिका रहने भएकाले यस नियुक्तिलाई विशेष चासोका साथ हेरिएको छ। मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने इच्छुक उम्मेदवारहरूलाई साविककै सूचनाअनुसार आवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply