कागेश्वरी मनोहरा नगर अस्पताल १०० शय्यामा स्तरोन्नति हुने, बजेट छिट्टै दिने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८३, सोमबार ०६:४१

काठमाडौं। इन्द्र बानियाँ ले कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न आवश्यक बजेट प्रदेश सरकारले छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

आइतबार मुलपानीस्थित अस्पतालको अवलोकन गर्दै उनले १०० शय्याको स्वीकृति चाँडै दिने र भवन निर्माणका लागि बजेट विनियोजनमा कुनै द्विविधा नरहेको स्पष्ट पारे। यसअघि नै बागमती प्रदेश सरकारले १०० शय्याको जनरल अस्पताल निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गरिसकेको छ।

मुख्यमन्त्री बानियाँले शिक्षा र स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै कुनै पनि नागरिक यी सेवाबाट वञ्चित हुन नहुने बताए। “स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिक रहने भएकाले यसको भूमिका अझ प्रभावकारी हुनुपर्छ,” उनले भने। साथै, गणतन्त्रको उपलब्धि गरिब, विपन्न, बालबालिका र ज्येष्ठ नागरिकको हितमा केन्द्रित हुनुपर्ने भन्दै स्वास्थ्य सेवामा यी वर्गलाई प्राथमिकता दिन अस्पताललाई आग्रह गरे।

 स्थानीय तहको योजना: ओटी र आईसीयू सेवा विस्तार

अवलोकनका क्रममा अस्पतालले प्रदान गर्दै आएका सेवाबारे जानकारी लिँदै मुख्यमन्त्रीले सेवाको गुणस्तरप्रति सन्तुष्टि व्यक्त गरेका थिए। उनले नगरप्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापा लाई अस्पताल विकासमा गरेको पहलका लागि धन्यवाद दिएका छन्।

नगरप्रमुख कार्कीले प्रदेशबाट बजेट प्राप्त हुनेबित्तिकै अस्पताल विस्तारको काम अघि बढाइने जानकारी दिँदै १०० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, अपरेशन थिएटर (OT) र आईसीयू सेवा सञ्चालन गर्ने योजना रहेको बताए। उनले हाल बर्थिङ सेन्टरमार्फत सयौं महिलाले सुरक्षित रूपमा सुत्केरी सेवा लिइरहेको उल्लेख गरे।

महिलाको पाठेघरसम्बन्धी शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल विस्तार आवश्यक रहेको उनले बताए। साथै शिक्षा, स्वास्थ्य, उद्यमशीलता, खानेपानी र खेलकुदलाई प्राथमिकतामा राख्दै नगरको समग्र विकास अघि बढाइएको जानकारी मुख्यमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो।

उपप्रमुख थापाले स्वास्थ्य चौकीबाट सुरु भएको संस्थालाई नगर अस्पतालको रूपमा विकास गरिएको बताउँदै अन्य स्थानीय तहका अस्पतालभन्दा सेवा स्तर राम्रो रहेको दाबी गरिन्।

 प्रदेश सरकारको साथ

उच्चस्तरीय अवलोकन कार्यक्रममा प्रभात तामाङ (आर्थिक मामिला तथा योजना मन्त्री) र किरण थापा मगर (स्वास्थ्य मन्त्री) को समेत उपस्थिति रहेको थियो। उनीहरूले अस्पताल विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

हाल अस्पतालमा हाडजोर्नी, ईएनटी, जनरल फिजिसियन, ओपीडी लगायतका सेवा उपलब्ध छन् भने २४सै घण्टा आपत्कालीन सेवा सञ्चालनमा छ। अहिले ३५ शय्याबाट सेवा दिँदै आएको अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने योजना अघि बढाइएको छ।

प्रतिक्रिया

slot gacor