रोल्पा । रोल्पा मा भएको भीषण जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ। रुकुम पूर्व बाट थबाङस्थित प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको तीर्थयात्री सवार जीप बिहीबार साँझ दुर्घटनामा परेको हो।
पूर्णिमाको अवसरमा मेला भर्न र पूजाआजा गर्न हिँडेका यात्रु बोकेको उक्त जीप सिस्ने गाउँपालिका–५ टाकुराबाट छुटेको थियो। प्रहरीका अनुसार जीप थबाङ र जलजलाको सिमानामा पर्ने अप्ठ्यारो भीरबाट करिब ८ सय मिटर तल खसेको हो।
दुर्घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने थप तीन जनाको उद्धारका क्रममा तथा उपचारका लागि लैजाँदै गर्दा ज्यान गएपछि मृतकको संख्या २० पुगेको हो। ज्यान गुमाउनेमध्ये अधिकांश सिस्ने–५ टाकुरा क्षेत्रका बासिन्दा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनास्थल अत्यन्त दुर्गम र भिरालो भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। थबाङ र आसपास क्षेत्रबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीहरू संयुक्त रूपमा उद्धारमा जुटिरहेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार वर्षाका कारण सडक चिप्लो हुनु, कुहिरो लागेर दृश्यता कम हुनु र सवारी साधन अनियन्त्रित हुनु दुर्घटनाको कारण हुन सक्ने अनुमान गरिएको छ।
घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्र तथा थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने क्रम जारी छ। केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
यस घटनापछि रुकुम पूर्व र रोल्पा क्षेत्रमा शोकको लहर छाएको छ। मृतकका परिवारलाई राहत र घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ।
दुर्गम पहाडी भेगमा सडकको कमजोर अवस्था, प्रतिकूल मौसम र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिका कारण यस्ता दुर्घटनाहरू दोहोरिने गरेको भन्दै सरोकारवालाहरूले सडक सुरक्षा र सतर्कता बढाउनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया