सहमति र विश्वासको सम्मान गर्दै शिवबहादुर काफ्ले भाइस गभर्नरको दौडमा
rastriyakhabar
३ भाद्र २०८३, बुधबार ०६:१०
काठमाडौं । किवानिस नेपाल डिस्ट्रिक्टको आगामी नेतृत्वका लागि शिवबहादुर काफ्लेले भाइस गभर्नर पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। किवानिस नेपाल डिस्ट्रिक्टको निर्माणदेखि क्लब विस्तार, प्रोभिजनल डिस्ट्रिक्ट हुँदै पूर्ण डिस्ट्रिक्ट निर्माणसम्म आफ्नो महत्वपूर्ण योगदान रहेको भन्दै काफ्लेले संस्थागत सहमति, सहकार्य र विश्वासलाई प्राथमिकतामा राखेर नेतृत्व अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
किवानिस नेपाल डिस्ट्रिक्टको विकास यात्रामा लामो समयदेखि सक्रिय रहँदै आएका काफ्लेलाई पुराना क्लबहरूको संस्थागत विरासत, निरन्तर सेवा तथा नेतृत्व अनुभव उनका प्रमुख आधारका रूपमा हेरिएको छ।
काफ्ले किवानिस वर्ष २०२५–२६ मा भाइस गभर्नर पदका लागि अर्का सहकर्मीलाई सहयोग गर्दै संस्थागत सहकार्य र सहमतिको संस्कारलाई प्राथमिकता दिएको बताइएको छ। सोही अनुभव र विगतमा भएको नेतृत्वबीचको संवाद तथा समझदारीका आधारमा उनी २०२६–२७ का लागि भाइस गभर्नर पदका स्वाभाविक उम्मेदवार रहेको समर्थकहरूको दाबी छ।
काफ्लेको अभियानले ‘सहमति तोड्न होइन, विश्वास जोड्ने नेतृत्व रोजौँ’ भन्ने नारालाई अघि सारेको छ। संस्थाभित्रको एकता, आपसी विश्वास र सहकार्यलाई बलियो बनाउँदै किवानिसको गरिमा अझ उचाइमा पुर्याउने उद्देश्य आफ्नो उम्मेदवारीको रहेको काफ्लेको भनाइ छ।
उनले विगतका सहमति र समझदारीको सम्मान गर्दै अनुभवी नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड दिएका छन्। किवानिस नेपाल डिस्ट्रिक्टलाई अझ संस्थागत, प्रभावकारी र एकताबद्ध बनाउन आफ्नो अनुभव र सक्रियतालाई उपयोग गर्ने उनको प्रतिबद्धता छ।
“विश्वासको सम्मान गर्ने, अनुभवलाई नेतृत्व दिने र किवानिसको गरिमा अझ उच्च बनाउने समय आएको छ,” काफ्लेको अभियानको मुख्य सन्देश छ।
काफ्लेले किवानिस वर्ष २०२६–२७ का लागि भाइस गभर्नर पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै सदस्य तथा क्लबहरूको विश्वास र समर्थनको अपेक्षा गरेका छन्।
प्रतिक्रिया