काठमाडौँ । डोल प्रसाद अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहिया बीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैङ्गिक समानता, कूटनीति तथा जलवायु परिवर्तनलगायत समसामयिक विषयमा विस्तृत छलफल भएको थियो।
सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद् संयुक्त राष्ट्रसंघ सँग सहकार्य र समन्वयका लागि सधैं प्रतिबद्ध रहेको बताए।
उनले पछिल्लो आम निर्वाचनपछि प्रतिनिधि सभामा युवाहरूको उल्लेखनीय सहभागिता भएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उपलब्धि बताएका छन्। जेन–जी पुस्ताको सक्रिय सहभागिता यस परिवर्तनको मुख्य पक्ष भएको उनको भनाइ थियो।
समावेशी लोकतन्त्र सुदृढीकरणका लागि महिला सहभागिता बढाउनुपर्नेमा जोड दिँदै उनले भविष्यमा महिला–पुरुष ५०/५० प्रतिनिधित्वतर्फ अघि बढ्ने लक्ष्य रहेको जानकारी दिए।
सभामुख अर्यालले अबको राजनीतिक प्राथमिकता विकास, सुशासन र चेतनाको विस्तारमा केन्द्रित हुनुपर्ने बताए। विभिन्न पुस्ताको अनुभव र ऊर्जाको समायोजनमार्फत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत क्षेत्रमा सुधार ल्याउने गरी संसद्ले प्रभावकारी कानुन निर्माणमा ध्यान दिने उनको भनाइ थियो।
उनले नेपाल संयुक्त राष्ट्रसंघका सिद्धान्तप्रति सदस्यता प्राप्त गरेदेखि नै प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै बहुपक्षीय सहयोगमार्फत विश्वव्यापी चुनौती समाधानमा संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण रहेको बताए।
शान्ति स्थापना मिसनमा नेपालको योगदानबारे चर्चा गर्दै उनले नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानमा अग्रणी योगदानकर्ता राष्ट्रमध्ये एक रहेको उल्लेख गरे।
जलवायु परिवर्तनको सन्दर्भमा उनले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्र भए पनि यसको गम्भीर असर भोगिरहेको बताए। हिमाल पग्लिने, विपद् बढ्ने र जनजीवन प्रभावित हुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले निरन्तर आवाज उठाइरहेको बताए।
साथै, पर्वतीय पारिस्थितिकी संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोग आवश्यक रहेको र सांस्कृतिक सम्पदा संरक्षणमा पनि पहल भइरहेको जानकारी उनले दिएका छन्।
प्रतिक्रिया