काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले पार्टीका नेता सुधन गुरुङ माथि लागेको आरोपबारे चाँडै औपचारिक छानबिन प्रक्रिया सुरु गरिने बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छानबिनको ढाँचा र प्रक्रिया सम्बन्धी विस्तृत जानकारी समेत छिट्टै सार्वजनिक गरिने जानकारी दिए।
पछिल्लो समय गुरुङसँग सम्बन्धित विषयमा सार्वजनिक भएका विभिन्न टीकाटिप्पणी र विवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लामिछानेले सत्यतथ्य पत्ता लगाउन निष्पक्ष अनुसन्धान गरिने स्पष्ट पारे।
उनले पार्टीभित्र कसैलाई पनि कानुन र पद्धतिभन्दा माथि राख्न नसकिने उल्लेख गर्दै दोषी देखिएमा विधानअनुसार कारबाही हुने र निर्दोष भए न्याय पाउने कुरामा ढुक्क हुन आग्रह गरे।
लामिछानेका अनुसार पार्टीले विगतदेखि नै आन्तरिक अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै आएको छ र यस प्रकरणलाई पनि सोही गम्भीरताका साथ अघि बढाइनेछ।
उनले अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाइने र जनताले उठाएका प्रश्नहरूको उचित सम्बोधन गरिने बताए। साथै, पार्टीको छवि र जनविश्वास कायम राख्न यो विषयको छिनोफानो छिटो गर्न आवश्यक रहेकोमा जोड दिए।
छानबिनका लागि आवश्यक समिति गठन गरी तत्काल काम सुरु गर्न निर्देशन दिइएको उल्लेख गर्दै उनले प्रक्रियामा कुनै ढिलासुस्ती नहुने आश्वासन दिएका छन्।
प्रतिक्रिया