काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले अस्पताल तथा स्वास्थ्य संस्थामा देखिँदै आएको अव्यवस्था नियन्त्रण गर्न कडाइका साथ नयाँ निर्देशन लागू गरेको छ।
मन्त्रालयले २०८३ वैशाख १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्वास्थ्य मन्त्री नीशा मेहता ले अस्पताल परिसरभित्र अनुमति बिना भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताका नाममा भीडभाड गर्ने तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्याउने गतिविधिमा पूर्ण रोक लगाइएको स्पष्ट पारेकी छन्।
मन्त्रालयका अनुसार यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन गर्नुका साथै स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्ने भएकाले अब कडा निगरानी र कारबाही गरिनेछ।
यस सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहताले उपचारका क्रममा कुनै गुनासो भएमा अस्पतालमा तोडफोड वा होहल्ला गर्नुको सट्टा सम्बन्धित निकायमा प्रमाणसहित उजुरी दिन आग्रह गरेकी छन्।
सरकारको यो कदमले स्वास्थ्य संस्थामा अनुशासन कायम गर्दै बिरामीको गोपनीयता र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया