काठमाडौं । नेपालका युवा उद्यमी परशुराम चौहान ‘प्रलाद’ अन्तर्राष्ट्रिय मञ्चमा ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित भएका छन्। कम उमेरमै व्यवसायिक सफलता हासिल गर्दै आएका चौहानले विश्वस्तरमा कीर्तिमान कायम गरेका हुन्।
भारतको गोवामा आयोजित एक भव्य कार्यक्रममा नरुलाज एन्ड कम्पनी (इभेन्ट्स)को व्यवस्थापनमा उनलाई सम्मान प्रदान गरिएको हो। कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला र व्यवसाय क्षेत्रका अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङ बाट काठमाडौं आएका चौहान हाल बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स तथा परामर्श व्यवसायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनी आयुर्वेदिक स्वास्थ्य सेवा, कलाकारिता र समाजसेवामा समेत सक्रिय छन्।
आयोजक संस्थाले स्वास्थ्य सेवा र डायग्नोस्टिक्स क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मानित गरेको जनाएको छ। चौहानको कार्यले उद्यमशीलता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गरेको निष्कर्ष आयोजकको छ।
सम्मानपछि चौहानले सामूहिक प्रयास र निरन्तरताले सफलता हासिल गर्न सकिने बताए।
“यो केवल मेरो होइन, सम्पूर्ण नेपालीको जित हो। परिवार, सहकर्मी र शुभेच्छुकहरूको साथ र विश्वासले नै यहाँसम्म ल्याएको हो,” उनले भने।
कोभिड–१९ महामारीका बेला विभिन्न स्थानमा राहत संकलन र वितरणमा सक्रिय रहेका चौहानले सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता निरन्तर रहने बताएका छन्।
“पीडामा परेका मानिसलाई सानो सहयोग गर्न पाउँदा ठूलो सन्तुष्टि मिल्छ,” उनले अनुभव सुनाए।
हाल आफ्ना व्यवसायमार्फत सयौंलाई रोजगारी प्रदान गरिरहेका चौहानले व्यवसाय र समाजसेवालाई सँगसँगै अगाडि बढाउने योजना रहेको बताए। दीर्घकालीन सोच, सकारात्मक दृष्टिकोण र लगनशीलताले नै सफलताको बाटो खोल्ने उनको विश्वास छ।
प्रतिक्रिया