अमेरिकाबाट ६ हेलिकोप्टर सहयोग प्रस्ताव : नेपाली सेनाभित्र छलफल तीव्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०८३, सोमबार ०५:४४

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाली सेनाको हवाई क्षमता तथा विपद् व्यवस्थापन सुदृढ गर्न ६ वटा हेलिकोप्टर उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ।

अमेरिकी सरकारको ‘फरेन मिलिटरी फाइनान्सिङ’ (FMF) अनुदान कार्यक्रमअन्तर्गत करिब १०० मिलियन अमेरिकी डलर (झन्डै १३ अर्ब रुपैयाँ) बराबरको सहयोग प्याकेज प्रस्ताव गरिएको हो।

यस विषयमा नेपाली सेना, दुवै देशका परराष्ट्र अधिकारीहरू र अमेरिकी दूतावास काठमाडौंबीच आन्तरिक छलफल भइरहेको छ। दूतावासले छिटो निर्णयका लागि आग्रह गरिरहेको भए पनि सेनाले औपचारिक प्रतिक्रिया दिइसकेको छैन।

सैनिक स्रोतका अनुसार प्रस्तावित हेलिकोप्टरको सञ्चालन खर्च, इन्धन, प्राविधिक तालिम र दीर्घकालीन मर्मतसम्भारको भार नेपाली सेनाको बजेटले धान्न सक्ने वा नसक्नेबारे विस्तृत अध्ययन भइरहेको छ। यसअघि प्राप्त हवाई साधनहरूको मर्मतसम्भार महँगो परेपछि सेना सतर्क देखिएको हो।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले सन् २०८१ मा १०० मिलियन डलरको एफएमएफ सम्झौता भएको जानकारी भए पनि थप ६ हेलिकोप्टरबारे औपचारिक विवरण प्राप्त नभएको बताएका छन्।

नेपाल र अमेरिकाबीच सात दशकभन्दा लामो सैन्य सहकार्य रहँदै आएको छ। यसअघि पनि अमेरिकाले २ वटा हेलिकोप्टर सहयोग गर्ने सम्झौता गरिसकेको छ। साथै २०२४ सेप्टेम्बर ४ मा दुई वटा एम–२८ स्काइ ट्रक विमान नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो।

अमेरिकाले खोज तथा उद्धार, मानवीय सहायता, फिल्ड हस्पिटल, एम्बुलेन्स र शान्ति सैनिक तालिममा समेत सहयोग गर्दै आएको छ। पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पूर्वाधार विकासमा पनि अमेरिकाको महत्वपूर्ण योगदान रहेको छ।

प्रस्तावित हेलिकोप्टरले नेपालको दुर्गम भूगोलमा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। तर सञ्चालन लागत र प्राविधिक पक्षबारे स्पष्ट निर्णय नआएसम्म प्रक्रिया केही समय लम्बिने देखिएको छ।

प्रतिक्रिया

Leave a Reply