भाइरल भिडियो प्रकरण : सांसद विश्वराज पोखरेलद्वारा सार्वजनिक माफी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८३, आईतवार ०५:५७

काठमाडौं । हालै सामाजिक सञ्जालमा भाइरल भएको एक विवादास्पद भिडियोलाई लिएर सांसद विश्वराज पोखरेलले सार्वजनिक रूपमा माफी मागेका छन्।

भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना र टीकाटिप्पणी भइरहेका बेला उनले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो गल्ती स्वीकार गरेका हुन्। उक्त भिडियोले सामाजिक मर्यादा र जनप्रतिनिधिको गरिमामा आँच पुर्‍याएको भन्दै व्यापक विरोध भएको थियो।

पोखरेलले विद्यालयका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको कडा आलोचना भएको छ। ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआईजीसमेत रहेका उनले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए।

‘म आउँदैछु भन्दा तपाईं निस्किनुपर्छ, तपाईं कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ,’ भन्दै उनले आफूलाई ‘माननीय’का रूपमा प्रस्तुत गर्दै प्रधानाध्यापकमाथि दबाब सिर्जना गरेको भिडियोमा देखिन्छ।

भिडियो भाइरल भएपछि उनको व्यवहारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको थियो। जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार अपेक्षित नभएको भन्दै नागरिकस्तरबाट गम्भीर आपत्ति जनाइएको थियो।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो स्पष्टीकरणमा सांसद पोखरेलले उक्त घटना तत्कालको आवेगका कारण भएको बताएका छन्। आफ्नो अभिव्यक्ति वा व्यवहारबाट कसैको मानमर्दन भएकोमा गहिरो खेद व्यक्त गर्दै उनले बिनाशर्त माफी मागेका छन्।

जनप्रतिनिधिको हैसियतले मर्यादित र जिम्मेवार हुनुपर्ने दायित्वप्रति आफू सचेत रहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता उनले जनाएका छन्।

यस घटनाले जनप्रतिनिधिको बोली र व्यवहारप्रति थप संवेदनशील हुनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ। कतिपयले उनको माफीलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले आलोचना जारी राखेका छन्।

 

प्रतिक्रिया

Leave a Reply