देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, तर अझै रेड नोटिस भएन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०८३, बुधबार ०६:२८

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस का पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको दुई साता बित्दा पनि अन्तर्राष्ट्रिय रेड नोटिस जारी भएको छैन।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्रका आधारमा काठमाडौं जिल्ला अदालत ले २४ चैतमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

तर, हालसम्म इन्टरपोल मार्फत रेड नोटिस जारी गर्न आवश्यक प्रक्रिया अघि नबढेको स्रोतले जनाएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौं ले अहिलेसम्म औपचारिक रूपमा इन्टरपोललाई पत्राचार नगरेको बताइएको छ।

स्रोतका अनुसार केवल पक्राउ पुर्जीकै आधारमा रेड नोटिस जारी गर्न नमिल्ने भएकाले आवश्यक कानुनी आधार र कागजी प्रक्रिया पूरा हुन बाँकी छ।

देउवा दम्पतीविरुद्ध अस्वाभाविक आर्थिक कारोबार भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। पक्राउ पुर्जी जारी हुँदा उनीहरू विदेशमै रहेका थिए। १४ फागुनमा उपचारका लागि सिंगापुर गएका उनीहरू ७ चैतमा हङकङ पुगेको र हालसम्म त्यहीँ रहेको स्रोतको दाबी छ।

इन्टरपोलमार्फत रेड नोटिस जारी भएमा १९६ सदस्य राष्ट्रका सुरक्षा निकायले उनीहरूलाई पक्राउ गर्न सक्नेछन् र आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन सकिनेछ।

पक्राउ पुर्जीपछि सार्वजनिक वक्तव्य दिँदै देउवाले आफू ‘खुला किताब’ भएको दाबी गर्दै सम्पत्तिसम्बन्धी आरोपहरू भ्रामक रहेको बताएका थिए। उनले सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाइसकेको पनि उल्लेख गरेका छन्।

यसैबीच देउवा परिवारसँग सम्बन्धित अन्य व्यक्तिहरूको आर्थिक कारोबारबारे पनि अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply