बुढानीलकण्ठमा दोस्रो नगर खेलकुद शिल्ड २०८३ हुने, ५०० खेलाडी सहभागी हुने अपेक्षा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०८३, बुधबार ०६:१७

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका मा दोस्रो नगर खेलकुद शिल्ड २०८३ आयोजना हुने भएको छ।

प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद बोर्डले यसपटक प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य बनाइने जनाएको छ। करिब ४० लाख रुपैयाँको लागतमा आयोजना हुने प्रतियोगिता वैशाख ११, १२ र १३ गते तीन दिनसम्म सञ्चालन हुनेछ।

करिब ५०० खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगिताले खेलकुदमार्फत स्वस्थ जीवनशैली, अनुशासन र सामुदायिक एकता प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनकै क्रममा फुटबलतर्फको ‘टाइ–सिट’ पनि सार्वजनिक गरिएको छ।

खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिँदै सबै सहभागीका लागि बीमा व्यवस्था गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता टोलीलाई ४ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै, लगातार तीन पटक उपाधि जित्ने टोलीलाई रनिङ ट्रफी स्थायी रूपमा प्रदान गरिने विशेष व्यवस्था गरिएको छ।

यस वर्षको प्रतियोगिताको आधिकारिक शुभंकर “स्वर्ग चरी” रहनेछ, जसले स्थानीय पहिचान र उत्साहको प्रतीकका रूपमा कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।

पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख तथा खेलकुद बोर्डका संयोजक सुमन लामा सहित विभिन्न जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाले यस प्रतियोगितामार्फत लुकेका प्रतिभाहरू उजागर गर्ने, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र समुदायबीचको सम्बन्ध सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। प्रतियोगितासम्बन्धी विस्तृत तालिका र सहभागी टोलीहरूको विवरण भने छिट्टै सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

Leave a Reply