गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब, ‘नेक्सस’ प्रकरणले राजनीति तरंगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०८३, मंगलवार ०५:३५

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट सँगको सम्बन्धका कारण गृहमन्त्री सुधन गुरुङ माथि राजीनामाको दबाब तीव्र बनेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका प्रभावशाली मन्त्री मानिएका गुरुङमाथि आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै र सडकबाट समेत पदत्यागको माग उठिरहेको छ।

विवादको जड: ‘नेक्सस’ प्रकरण

गृहमन्त्री गुरुङमाथि लागेको मुख्य आरोप व्यवसायी भट्टसँगको व्यावसायिक साझेदारी हो। स्रोतका अनुसार, हाल प्रहरी हिरासतमा रहेका भट्ट समूहसँग जोडिएको एक लघु बिमा कम्पनीमा गुरुङको समेत सेयर रहेको तथ्य सार्वजनिक भएको छ।

अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री स्वयं साझेदार देखिनुले न्यायिक निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। विशेष गरी ‘जेनजी मुभमेन्ट नेपाल’ लगायत नागरिक समूहहरूले गुरुङलाई पदबाट हटाई निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका छन्।

पार्टीभित्रै दबाब

गुरुङमाथिको विवादले रास्वपाभित्रै असहजता बढाएको छ। पार्टीको नीति र छविविपरीत काम गरेको भन्दै आन्तरिक रूपमा आलोचना भइरहेको छ। यसअघि विवादमा परेका मन्त्रीहरूलाई हटाइसकेको रास्वपाले यस प्रकरणमा कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ।

राजीनामाको दबाब मत्थर पार्न गृहमन्त्री गुरुङ आइतबार राति रास्वपा सभापति रवि लामिछाने को बुढानीलकण्ठस्थित निवास पुगेका थिए। स्रोतका अनुसार, लामिछानेले तत्काल राजीनामा दिनुभन्दा पार्टी बैठकमा आफ्नो स्पष्टीकरण राख्न सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहको मौनता

गृहमन्त्री गुरुङ प्रधानमन्त्री शाहका विश्वासपात्र मानिन्छन्। तर सरकारको ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ नीतिका बीच उठेको यो विवादले प्रधानमन्त्रीलाई समेत दबाबमा पारेको छ।

हाल गुरुङले राजीनामा दिने वा पदमै रहेर अनुसन्धानमा सघाउने भन्ने विषयले नेपाली राजनीतिमा थप बहस सिर्जना गरेको छ। अब अनुसन्धान निकाय र राजनीतिक नेतृत्वले लिने निर्णयले सरकारको स्थिरतामा कस्तो प्रभाव पार्छ भन्ने कुरामा चासो केन्द्रित भएको छ।

प्रतिक्रिया

slot gacor