काठमाडौं। ललितपुर महानगरपालिका–२७ की एक महिलाले सामाजिक सञ्जालमार्फत श्रीमान्लाई ‘आफू मर्न लागेको’ भन्दै भिडियो कल गरेपछि प्रहरीको सक्रियतामा उनको सकुशल उद्धार गरिएको छ।
सोमबार साँझ भएको उक्त घटनामा श्रीमान्ले तत्काल प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराएपछि जिल्ला प्रहरी परिसर ललितपुर ले तुरुन्तै खोजी कार्य सुरु गरेको थियो।
प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको नेतृत्वमा टोली खटाइएको थियो। खोजतलासका क्रममा ती महिला सुनाकोठीस्थित जंगल क्षेत्रमा फेला परेकी थिइन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी का अनुसार समयमै सूचना प्राप्त भएकाले महिलालाई सकुशल उद्धार गर्न सम्भव भएको हो।
उनले भने, “छिटो प्रतिक्रिया (क्विक रेस्पोन्स) का कारण महिलाको ज्यान जोगाउन सफल भयौँ। प्रहरी टोलीले उनलाई डोरी बोकेर जंगलतर्फ जाँदै गरेको अवस्थामा फेला पारेको थियो। मोबाइल लोकेसन ट्र्याक गर्दै जाँदा उद्धार सम्भव भयो।”
प्रहरीका अनुसार पारिवारिक विवादका कारण महिलाले यस्तो कदम चाल्न खोजेकी थिइन्।
परिसरले जारी गरेको सूचनामा ४३ वर्षीया महिलालाई सुनाकोठी जंगलबाट सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको उल्लेख गरिएको छ।
प्रतिक्रिया