काठमाडौँ। कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अब ६४० मेगावाट क्षमतामा निर्माण हुने भएको छ। सुरुवातमा ८४४ मेगावाट प्रस्ताव गरिएको भए पनि विस्तृत अध्ययनका क्रममा क्षमता घटाएर ६४० मेगावाट कायम गरिएको हो।
हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयारी भइरहेको छ। प्रस्तावित बाँध कालीगण्डकी नदी र सेती नदी को दोभानबाट करिब १० किलोमिटर माथि उर्लेनी–खङ्गकोट क्षेत्र (गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र पर्वतको बिहादी गाउँपालिका–२) मा निर्माण हुने जनाइएको छ। आयोजनामा करिब २४४ मिटर अग्लो बाँध बन्नेछ।
बाँध निर्माणपछि करिब २९ किलोमिटर लामो जलाशय खनियाघाटसम्म फैलिनेछ। आयोजनाको नेट हेड १८३.४ मिटर, डिस्चार्ज ४०५ घनमिटर प्रतिसेकेण्ड र वार्षिक ऊर्जा उत्पादन १,६४५.६५ गिगावाट घण्टा हुने अनुमान गरिएको छ।
यस आयोजनामा चारवटा स्टिल पेनस्टक र चारवटा फ्रान्सिस टर्बाइन जडान गरिने प्रस्ताव गरिएको छ। विद्युत्गृह पर्वतको बिहादी गाउँपालिका–बर्राचौर क्षेत्रमा निर्माण हुने जनाइएको छ।
आयोजनाबाट पर्वतका कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका तथा बिहादी गाउँपालिकाका विभिन्न वडाहरू प्रभावित हुनेछन्। यस्तै बागलुङका बागलुङ नगरपालिका र जैमिनी नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका तथा स्याङ्जाको गल्याङ नगरपालिका समेत प्रभावित हुने जनाइएको छ।
आयोजनाको सम्भाव्यता अध्ययन तथा वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता कम्पनीहरू SMEC International तथा Z Consult ले गरिरहेका छन्।
प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक, कालीगण्डकी लोकमार्ग तथा कालीगण्डकी करिडोरमार्फत सहजै पहुँचयोग्य हुने जनाइएको छ।
प्रतिक्रिया