नगरप्रमुख डा. नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०८२, शुक्रबार ०६:०२

सिरहा । सिरहाको सिरहा नगरपालिका का प्रमुख डा. नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नगरपालिकाका एक कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी गरिएको हो।

आरोप अनुसार सोमबार बिहान करिब ९ बजे हाजिरी गरिरहेको अवस्थामा नगरप्रमुख यादवले ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेका थिए। उक्त घटनामा पीडितको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डीसमेत भाँचिएको जनाइएको छ।

घाइते रामशरण यादवको हाल विराटनगरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठक का अनुसार सो घटनामा नगरप्रमुख यादवमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सिरहा बाट पक्राउ पुर्जी जारी गरिएको हो।

पक्राउ पुर्जी जारी भएसँगै नगरप्रमुख यादवको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। सोही घटनामा संलग्न अर्का आरोपित नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने प्रहरीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply