दलित उत्थान कार्यक्रम अन्तर्गत सिलाई मेसिन वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०८२, बिहीबार ०७:१०

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले ‘दलित उत्थान कार्यक्रम’ अन्तर्गत उत्पीडित तथा दलित समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्यले सिलाई मेसिन वितरण गरेको छ।

नगरपालिकाभित्र विभिन्न साना तथा घरेलु व्यवसाय सञ्चालन गर्दै आएका दलित/उत्पीडित समुदायलाई लक्षित गर्दै करिब ३० जना कपडा सिलाउने उद्यमीलाई ८० प्रतिशत लागत साझेदारीमा सिलाई मेसिन उपलब्ध गराइएको हो।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरिएको उक्त कार्यक्रमका लागि प्रविधि सहयोग प्राप्त गर्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको थियो। प्राप्त आवेदनहरूमाथि स्थलगत अवलोकन तथा अनुगमन गरी वास्तविक आवश्यकता र अवस्थाका आधारमा छनोट गरिएको नगरपालिकाले जनाएको छ।

यस कार्यक्रममार्फत दलित समुदायको उद्यमशीलता प्रवर्द्धन, आत्मनिर्भरता अभिवृद्धि तथा आयआर्जनमा वृद्धि गर्ने लक्ष्य लिइएको छ। सहयोग प्राप्त गर्ने उद्यमीहरूलाई थप प्रेरणा, ऊर्जा र आत्मविश्वास मिल्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो। उनीहरूले यस्ता कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना र आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने बताए।

नगरपालिकाले आगामी दिनमा पनि दलित तथा विपन्न समुदाय लक्षित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply