काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटका क्रममा उनले नेपालले सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिने र विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारीलाई सुदृढ गर्ने नीति लिएको उल्लेख गरे।
“नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भने, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएका सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”
विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा उनले जोड दिए। “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारणलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ,” उनले भने।
प्रधानमन्त्री शाहले लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन तथा दिगो विकासलाई समर्थन गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको बताए। साथै राष्ट्रिय हितअनुकूल हुनेगरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरे।
“नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन,” उनले भने, “हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ छौँ।”
उनले विकास, व्यापार, लगानी, जलवायु अनुकूलन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाउन सरकार इच्छुक रहेको जानकारी दिए। साथै विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा पनि उनले जोड दिए।
प्रतिक्रिया