पाटनको कृष्णमन्दिरअगाडि चक्कु प्रहार, दुई दाजुभाइको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०८२, बिहीबार ०६:३६

काठमाडौँ । ललितपुरको पाटन कृष्ण मन्दिर अगाडि भएको चक्कु प्रहार घटनामा घाइते भएका दुई दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ।

बुधबार भएको घटनामा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो। गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका मुख्य आरोपित सन्जीब नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। चक्कु प्रहार गरेर भाग्दै गरेका उनलाई एक महिला प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको जनाइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा पुगेपछि सोही विषयलाई लिएर विवाद भएको खुलेको छ। फोनमा भनाभन भएपछि इमाडोल बस्दै आएका नेम्बाङ दाजुभाइ उनलाई भेट्न कृष्णमन्दिर पुगेका थिए। सोही क्रममा विवाद बढ्दै जाँदा चक्कु प्रहार भएको जनाइएको छ।

जिल्ला प्रहरी परिसर ललितपुर का प्रमुख एसएसपी होविन्द्र बोगटीले घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको र चारैतिर घेरा हालेर आरोपितलाई नियन्त्रणमा लिएको बताएका छन्।

घटनापछि सातदोबाटो प्रहरी वृत्तका प्रमुख डीएसपी पूर्णिमा चन्दको नेतृत्वमा प्रहरी टोली र प्रहरी प्रभाग मंगलबजारको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply