काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ को आयोजनामा बुढानीलकण्ठ–शिवपुरी ट्रेल रेस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण ट्रेलको संगममा सम्पन्न उक्त प्रतियोगिताले सहभागी धावकहरूको उत्कृष्ट प्रदर्शनसँगै दौडलाई स्मरणीय बनाएको आयोजकले जनाएको छ।
प्रतियोगिताको पुरुषतर्फ मिलन राई प्रथम (१:३५:४६), प्रताप थाम्सुहाङ द्वितीय (१:३६:०४), कर्ण रावल तृतीय (१:३६:४६), लोकेन्द्र राई चौथो (१:३९:०६) र विशाल राई पाँचौं (१:३९:२१) स्थानमा रहे।
महिलातर्फ सुनसरी रोकाया प्रथम (१:५८:०४), राज्यलक्ष्मी रावल द्वितीय (२:०२:०७), गीता नेपाली तृतीय (२:१०:२२), आस्मा बि.क. चौथो (२:१२:५०) र मञ्जु सुनुवार पाँचौं (२:१३:२२) स्थान हासिल गर्न सफल भए।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अनिता लामा को प्रमुख आतिथ्यता रहेको थियो। साथै वडा नं. ३ का अध्यक्ष आकाश धिताल, वडा सदस्यहरू विकास तामाङ, बालमाया श्रेष्ठ, विक्रम श्रेष्ठ, सुशीला रमतेल तथा वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा को विशेष उपस्थिति रहेको थियो।
आयोजकका अनुसार उक्त ट्रेल रेसले खेल पर्यटन प्रवर्द्धनसँगै स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

प्रतिक्रिया