इयू टी–२० लिगमा ७ नेपाली खेलाडी अनुबन्ध, रोहित–दीपेन्द्रसहित शीर्ष खेलाडी छनोट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०८२, बुधबार ०६:०७

काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी–२० लिगका लागि बेल्जियममा ७ जना नेपाली क्रिकेट खेलाडी अनुबन्ध भएका छन्। रोहित पौडेलदीपेन्द्र सिंह ऐरी सहितका खेलाडी विभिन्न टोलीबाट छनोट भएका हुन्।

दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि–साइन गरिसकेको थियो भने सन्दीप लामिछाने लियेज रेड लायन्समा आबद्ध भइसकेका छन्। बाँकी खेलाडी भने हालै सम्पन्न ड्राफ्टमार्फत विभिन्न टोलीमा अनुबन्ध भएका हुन्। अप्सनल राउन्डबाट अनिल साहगुल्शन झा चयन भएका छन्।

कप्तान रोहित पौडेल गेन्ट ग्लाडियटर्समा क्याटेगोरी ‘बी’ बाट अनुबन्ध भएका छन् भने विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ अन्तर्गत एन्टवर्प एंकर्समा आबद्ध भएका छन्। त्यस्तै ललित राजवंशीइशान पाण्डे लाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ।

अप्सनल राउन्डमार्फत अनिल साह र गुल्शन झा पनि जेबी ब्रुग्समै समेटिएका छन्। उक्त टोली ड्रीम स्पोर्ट्स को स्वामित्वमा रहेको छ र नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज जनकपुर बोल्ट्ससँग आबद्ध छ।

जेबी ब्रुग्सले यसअघि न्युजिल्यान्डका कलिन मनरो, दक्षिण अफ्रिकाका रासी भान डर डुसेन, वायन पार्नेल तथा निखिल चौधरी लाई पनि प्रि–साइन गरिसकेको छ।

लिगका लागि कुल २२ नेपाली खेलाडीले नाम दर्ता गराएका थिए। ललित राजवंशी, आसिफ शेख र इशान पाण्डेका लागि यो विदेशको फ्रेन्चाइज लिगमा पहिलो सहभागिता हुनेछ भने रोहित, दीपेन्द्र र सन्दीप यसअघि नै अन्तर्राष्ट्रिय लिग खेलिसकेका अनुभवी खेलाडी हुन्।

प्रतिक्रिया