चैते दसैँसँगै बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०८२, बुधबार ०६:०५

काठमाडौं ।  बागलुङ कालिका मन्दिर मा चैते दसैँ सुरु भएसँगै भक्तजनको उल्लेख्य भीड बढेको छ। नवदुर्गा आरम्भ भएयता मन्दिरमा दर्शन गर्न आउनेहरूको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ भने मंगलबारदेखि चैते दसैँ मेला पनि सुरु भएको छ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्का का अनुसार वडा दसैँको तुलनामा चैते दसैँमा अझ बढी भक्तजन आउने गरेका छन् र यस वर्ष संख्या अझै बढेको देखिएको छ। शुक्रबारदेखि सुरु भएको नवदुर्गा पूजाअर्चा नवमीसम्म जारी रहनेछ, जसमा अष्टमीलाई विशेष महत्व दिइन्छ। चैते दसैँको मुख्य दिन चैत १२ गते बिहीबार परेको छ।

करिब तीन सय वर्षअघिदेखि मन्दिर परिसरमा चैते दसैँको अवसरमा मेला लाग्दै आएको छ। यस वर्ष पनि गुठी व्यवस्थापनअन्तर्गत व्यापारिक स्टल, मनोरञ्जनात्मक संरचना तथा विभिन्न कार्यक्रमसहित मेला सञ्चालन गरिएको छ।

देशका विभिन्न स्थानबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम जारी रहेको छ। प्रतिपदादेखि रामनवमीसम्म करिब १० लाख भक्तजन आउने अनुमान गरिएको छ। आगन्तुकका लागि मेला, स्टल र आवासको समेत व्यवस्था मिलाइएको छ।

मेलाको अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्। साथै, स्थानीय किसानहरूले काठका सामग्री, बाँसुरी, बाँस तथा निगालोबाट बनेका हस्तकलाका सामग्री बिक्रीका लागि ल्याएका छन्।

ऐतिहासिक रूपमा महत्वपूर्ण यस मन्दिरमा विसं १५९१ देखि पूजा हुँदै आएको मानिन्छ। किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई यहाँ स्थापना गरिएको विश्वास गरिन्छ।

प्रतिक्रिया