काठमाडौँ। महोत्तरी जिल्ला मा हिउँदभर पानी नपरेपछि निराश बनेका किसानहरू दुई दिनको वर्षापछि राहत महसुस गर्न थालेका छन्। शुक्रबार र शनिबार परेको वर्षाले खेतबारीमा पर्याप्त चिस्यान पुगेपछि खेतीपातीका काम अघि बढाउने आशा पलाएको हो।
भङ्गाहा नगरपालिका–४ का ६० वर्षीय किसान शुभनारायण ठाकुर का अनुसार वर्षापूर्व ओइल्याउँदै गएका वैशाखी तरकारीका बोट एकै दिनमा पुनः हरियाली देखिन थालेका छन्। “जग्गा रुखिएर खनजोत गर्न सकेका थिएनौँ, पछिल्लो वर्षाले ठूलो राहत दिएको छ,” उनले भने।
त्यस्तै बर्दिबास–७ का युवा किसान निरबहादुर खत्री ले पानीको अभावमा सुक्दै गएको उखु बाली वर्षापछि जोगिएको बताए। “अब बर्खे धान, मकै, कोदो र जुनेलो लगाउने तयारी सुरु हुन्छ,” उनले बताए।
वर्षाको लाभ तरकारी मात्र नभई फलफूलमा पनि देखिएको छ। बर्दिबास–५ का ७० वर्षीय होतराज घिमिरे का अनुसार आँप, लिची र रूखकटहरमा लागेको मधुवा र जालो वर्षाले पखालिदिँदा बाली जोगिने आशा बढेको छ।
यद्यपि वर्षा हुनु अघि चलेको हावाहुरीले केही बालीनालीमा सामान्य क्षति पुर्याएको भए पनि पानी परेसँगै हावाहुरी रोकिएपछि ठूलो क्षति हुनबाट जोगिएको किसानहरूले बताएका छन्।
जिल्लामा करिब ७१ हजार हेक्टर कृषियोग्य जमिन भए पनि सीमित क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ। कृषि ज्ञान केन्द्र महोत्तरी का अनुसार अधिकांश (झण्डै ८० प्रतिशत) खेती आकासे पानीमै निर्भर रहेको छ।
लामो खडेरीपछि परेको यो वर्षाले उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास किसानहरूले व्यक्त गरेका छन्। आगामी महिनाहरू खेतीपातीका लागि व्यस्त हुने र अनुकूल मौसम रहे उत्पादनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया