काठमाडौं। निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ।
समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ।
राजनीतिक दलकोतर्फबाट छनोट भई पेश भएका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणा गरिसकेको छ।
आयोगले राजनीतिक दलबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १६ सिट, नेपाल कम्युनिष्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था रहेको छ। आयोगले समानुपातिकतर्फका उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने जनाएको छ।
प्रतिक्रिया