काठमाडौँ । विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले चालिसेसँग धरौटी माग गर्ने आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तथा अदालतमा आरोपबारे इन्कारी बयान दिएको आधारमा धरौटी मागिएको बताइएको छ।
चालिसेमाथि ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ। उनीविरुद्ध गत २८ मंसिरमा मुद्दा दायर गरिएको थियो। उनी संसद्को अर्थ समितिका निवर्तमान सभापतिसमेत हुन्।
अख्तियारले चालिसे गोकर्णेश्वर नगरपालिकाका मेयर रहेका बेला गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ।
अख्तियारका अनुसार चालिसेको कुल ८ करोड ५६ लाख रुपैयाँ सम्पत्तिमध्ये ४ करोड ८८ लाख रुपैयाँ मात्र वैध स्रोतबाट आर्जन भएको देखिएको छ। बाँकी ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी आर्जन भएको ठहर गरिएको छ।
अख्तियारले चालिसेसहित उनकी पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे र सञ्जिव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ।
चालिसे जेठ २०७४ मा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। मेयरको पाँच वर्षे कार्यकाल सकिएपछि उनी काठमाडौं–३बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
अख्तियारले उनले सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाएर झुट्टा विवरण पेश गरेको आरोप समेत लगाएको छ।
प्रतिक्रिया