पाकिस्तान : पाकिस्तानले आइतबार आफ्नो सेनाले दक्षिणी अफगानिस्तानका केही सैन्य संरचना तथा आतंकवादी लुकेका स्थानलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ।
पाकिस्तानी सुरक्षा स्रोतका अनुसार तालिबान प्रशासनका सर्वोच्च नेता हिबातुल्लाह अखुन्दजादाको घर मानिने कान्दाहार क्षेत्रमा रहेको प्राविधिक पूर्वाधार र उपकरण भण्डारणस्थललाई लक्षित गरी आक्रमण गरिएको हो। उक्त कारबाहीमा ती संरचनाहरू प्रभावकारी रूपमा नष्ट गरिएको दाबी गरिएको छ।
यसैगरी अफगान तालिबान र तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले प्रयोग गर्ने भनिएको कान्दाहारस्थित सुरुङलाई लक्ष्य गर्दै अर्को हवाई आक्रमण गरिएको पनि स्रोतले जनाएको छ।
उता पाकिस्तानतर्फ रहेको बाजौर जिल्लामा अफगान पक्षबाट गरिएको आक्रमणमा परी चार जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।
दुवै देशले सर्वसाधारणलाई निशाना नबनाउने दाबी गरे पनि घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले मृत्यु तथा क्षतिको स्वतन्त्र पुष्टि गर्न कठिन भएको बताइएको छ।
स्थानीय बासिन्दाका अनुसार आक्रमणअघि जेट विमानहरू कान्दाहार शहरमाथि उडिरहेको देखिएको थियो र राति ठूलो विस्फोटको आवाज सुनिएको बताएका छन्। एक प्रत्यक्षदर्शीले समाचार संस्था एएफपीसँग भने, “सैन्य विमानहरू सैन्य सुविधा रहेका पहाडमाथि घुमिरहेका थिए र त्यसपछि एक्कासी ठूलो विस्फोटको आवाज सुनियो।”
कान्दाहारको दक्षिणपूर्वस्थित स्पिन बोल्दाक क्षेत्रमा पनि हवाई आक्रमण भएको स्थानीयले बताएका छन्। त्यस्तै पूर्वी सीमावर्ती खोस्त प्रान्तका अधिकारीहरूले शनिबार राति सीमाक्षेत्रमा झडप भएको जानकारी दिएका छन्।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने कान्दाहारमा रहेको लागूऔषध सुधार केन्द्र र एउटा खाली कन्टेनरमा सामान्य क्षति पुगेको बताएका छन्। उनले पाकिस्तानले भनेका प्रभावित स्थानहरू ती स्थानबाट टाढा रहेको दाबी गरेका छन्।
यसअघि अफगानिस्तानले गरेको भनिएको ‘ड्रोन आक्रमण’ शुक्रबार राति असफल पारिएको पाकिस्तानले जनाएको थियो। उक्त आक्रमण इस्लामाबाद नजिकै रहेको रावलपिण्डीस्थित पाकिस्तानी सैन्य मुख्यालयसहित कम्तीमा तीन स्थानलाई लक्षित गरिएको अधिकारीहरूले बताएका छन्।
आसिफ अली जर्दारीको कार्यालयले अफगान तालिबानमाथि सर्वसाधारणलाई निशाना बनाउँदै ‘सीमा रेखा नाघेको’ आरोप लगाएको छ। पाकिस्तानमा भएको आक्रमणपछि इस्लामाबादले गत महिना अफगानिस्तानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो।
तालिबान सरकारले भने अफगानिस्तानको भूभाग आतंकवादी गतिविधिका लागि प्रयोग हुन नदिएको दाबी गर्दै आएको छ। हालका हप्ताहरूमा दुवै देशबीच सीमाक्षेत्रमा बारम्बार झडप हुँदै आएका छन्। यसले सीमापार व्यापारमा अवरोध सिर्जना गरेको छ भने नजिकैका बासिन्दा विस्थापित हुन बाध्य भएका छन्।
संयुक्त राष्ट्रसंघको अफगानिस्तान मिसनका अनुसार फेब्रुअरी २६ देखि जारी द्वन्द्वमा कम्तीमा ७५ जना सर्वसाधारणको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन्।













प्रतिक्रिया