काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा ले हिन्दुराष्ट्र निर्माणका लागि संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाह नेतृत्वको नयाँ सरकारलाई सहयोग गर्ने प्रस्ताव गरेका छन्।
थापाका अनुसार नयाँ बन्ने सरकारलाई संसद्मा दुईतिहाइ बहुमत पुर्याउन अझै २ सिट कम रहेको छ। उनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसद्मा दुईतिहाइ बहुमतका लागि २ सिट कम छ। यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राप्रपाका ५ सांसदहरूको पूर्ण सहयोग रहनेछ।”
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कमल थापा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए। तर उक्त क्षेत्रमा उनी पराजित भएका छन्। सो क्षेत्रमा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भएका छन्। त्यसैगरी प्रदीप पौडेल ले ९ हजार १५९ मत र ईश्वर पोखरेल ले ४ हजार ७०१ मत प्राप्त गरेका छन्।
राप्रपाका नेता थापाले भने चुनाव चिह्न प्रयोग गरी जम्मा १ हजार ९२२ मत मात्रै प्राप्त गरेका थिए। कुल मतको १० प्रतिशतसमेत प्राप्त गर्न नसकेपछि कानुनअनुसार उनको जमानत जफत भएको थियो।
प्रतिक्रिया