काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको सांगठनिक तथा प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ।
बुधबार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै बसेको पहिलो बैठकले महाधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, स्वयंसेवक, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।
महाधिवेशनपछिको पहिलो बैठक भएकाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूबीच बधाई तथा शुभकामना आदानप्रदानका साथै पार्टीका विभिन्न विभागमा जिम्मेवारी बाँडफाँटबारे प्रारम्भिक छलफल गरिएको थियो।
बैठकले तत्कालका लागि सचिवालय सदस्य, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मनोनयन नगर्ने निर्णय गरेको छ। रास्वपाको विधानअनुसार ५१ जना केन्द्रीय सदस्य, ३३ जना सचिवालय सदस्य र १० जना पदाधिकारी मनोनयन गर्ने अधिकार सभापतिमा रहने व्यवस्था छ।
पार्टीकी महामन्त्री निशा डाँगी का अनुसार केन्द्रीय समितिले उक्त अधिकार सभापतिलाई नै प्रदान गरेको छ। आवश्यकताअनुसार आगामी दिनमा चरणबद्ध रूपमा मनोनयन प्रक्रिया अघि बढाइने उनले जानकारी दिइन्।
यसैबीच, बैठकले पार्टीका तीन प्रमुख आयोगको नेतृत्व भने टुंगो लगाएको छ। सहमहामन्त्री हरि ढकाल का अनुसार निर्वाचन आयोग र लेखा आयोग मा पुरानै नेतृत्वलाई निरन्तरता दिने निर्णय गरिएको छ भने अनुशासन आयोगको प्रमुखमा कास्की निवासी पूर्वन्यायाधीश लेखनाथ पौडेल नियुक्त भएका छन्।
रास्वपाले महाधिवेशनपछि संगठनलाई थप सुदृढ बनाउने, जिम्मेवारी बाँडफाँटलाई व्यवस्थित गर्ने तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने तयारीस्वरूप पहिलो बैठकबाट आवश्यक प्रक्रियाहरू सुरु गरेको जनाएको छ।
प्रतिक्रिया