पूर्वसचिव किशोर थापा त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०८३, बिहीबार ०५:१५

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाह ले थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।

यससँगै त्रिवि सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त भएकी छन्। विश्वविद्यालयमा योग्य, सक्षम र प्रतिस्पर्धी जनशक्ति छनोट प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले यी नियुक्ति गरिएको जनाइएको छ।

शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेल को नेतृत्वमा गठित सिफारिस समितिले अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई नियुक्त गरेका हुन्।

समितिले गत जेठ महिनामा अध्यक्ष पदका लागि सार्वजनिक रूपमा आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता र कार्यसम्पादनको मूल्याङ्कनपछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो।

वरिष्ठ आर्किटेक्ट तथा सहरी योजनाविद् किशोर थापा ले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न उच्च जिम्मेवारी सम्हालिसकेका छन्। उनले सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा कार्य गरेका थिए।

थापाले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

२०७२ सालको भूकम्पपछिको पुनर्निर्माण अभियानमा उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिमा विज्ञ सदस्यका रूपमा समेत सक्रिय थिए। हाल उनी नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिज मा सहरी योजनाविज्ञ तथा काठमाडौं विश्वविद्यालय मा ‘भिजिटिङ फ्याकल्टी’का रूपमा आबद्ध छन्।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नेतृत्वमा थापाको नियुक्तिसँगै विश्वविद्यालयको कर्मचारी भर्ना, सेवा व्यवस्थापन तथा संस्थागत सुधारका कार्यलाई थप व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor