काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। आफ्ना गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम तीव्र बनेको छ।
ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेका छन्। उनका अनुसार बुधबारसम्म बाहिरिने क्रम जारी रहनेछ। सार्वजनिक यातायातका साधन खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ।
यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाइन देखिएको छ। ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउन अतिरिक्त जनशक्ति परिचालन गरिएको छ।
सवारीसाधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी खटाइएको छ भने आवश्यकताअनुसार नजिकका प्रहरी इकाइसँग समन्वय गरी निगरानी बढाइएको छ। निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले पनि यातायात व्यवस्थापनमा सहयोग गरिरहेको छ।
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यक स्थानमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन, ट्राफिक नियम पालना गर्न तथा लामो दूरीको यात्रा अघि सवारीसाधन र सडक अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।













प्रतिक्रिया