इराकको एर्बिल विमानस्थलमा कार्यरत १५० नेपाली सुरक्षित स्थानमा सारिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०८२, बुधबार ०७:५५

काठमाडौँ । परराष्ट्र मन्त्रालय नेपाल ले इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थल मा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रालयले उक्त जानकारी सार्वजनिक गरेको हो।

एर्बिल अन्तर्राष्ट्रिय विमानस्थल इराकको कुर्दिस्तान क्षेत्रको एर्बिल सहरमा अवस्थित छ। अमेरिका, इजरायलइरान बीचको युद्ध मध्यपूर्वमा फैलिन थालेपछि त्यहाँ कार्यरत नेपालीहरूलाई उद्धार गरी सुरक्षित होटेलमा राखिएको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्का ले भने, “एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सो स्थानबाट उद्धार गरेर होटेलमा राखिएको अवस्था छ।”

इराकस्थित नेपालीहरूको हेरचाहको जिम्मेवारी नेपाली दूतावास कुवेत ले गर्दै आएको छ भने दोहा मा रहेको नेपाली दूतावास कतार ले उक्त जानकारी मन्त्रालयलाई उपलब्ध गराएको हो।

यसअघि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानहरूमा आक्रमण गरेको थियो। प्रभावित देशहरूमा साउदी अरेबिया, कुवेत, कतार, बहराइन, ओमान, इराकजोर्डन लगायत रहेका छन्।

इरानी आक्रमणपछि एर्बिल विमानस्थलमा कार्यरत नेपालीहरू असुरक्षित भएको निष्कर्षपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले अवस्थाबारे निरन्तर अनुगमन भइरहेको र आवश्यक परे थप कदम चालिने जानकारी दिएको छ।

प्रतिक्रिया