बीबीसी रिपोर्टका २० मुख्य दाबी : जेनजी आन्दोलनमा गोली आदेशदेखि राजनीतिक परिणामसम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०८२, शुक्रबार ०६:५१

काठमाडौं : BBC World Service ले भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ सम्बन्धी सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएका २० मुख्य बुँदा यसप्रकार छन् (रिपोर्टमा आधारित दाबीहरू) :

१. प्रहरीको गोप्य दस्ताबेज : बीबीसीले नेपाल प्रहरीको आन्तरिक ‘लग बुक’ प्राप्त गरेको दाबी गरेको छ, जसमा रेडियो सञ्चारका आदेशहरू मिनेट–मिनेटमा अभिलेख गरिएको छ।

२. “पिटर १” को आदेश : दिउँसो १२:४० बजे “पिटर १” कल साइनबाट “कर्फ्यु लागिसक्यो, आवश्यक बल प्रयोग गर” भन्ने आदेश गएको उल्लेख छ। त्यसपछि घातक हतियार प्रयोग भएको दाबी गरिएको छ।

३. कल साइनको पहिचान : रिपोर्टले “पिटर १” तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ भएको दाबी गरेको छ।

४. प्रहरीको जवाफ : नेपाल प्रहरी ले एकलौटी आदेश नभएको र सुरक्षा समितिको अनुमति लिएर अन्तिम कदम चालिएको जनाएको छ।

५. पूर्व आइजिपीको मौनता : अवकाशप्राप्त खापुङले बीबीसीको प्रतिक्रिया अनुरोधमा जवाफ नदिएको उल्लेख छ।

६. अनुमानभन्दा ठूलो भिड : करिब ३,००० को अनुमान गरिए पनि ३०,००० भन्दा बढी युवा सडकमा उत्रिएको दाबी छ।

७. आन्दोलनको कारण : भ्रष्टाचार, बेरोजगारी र अवसरमा असमान पहुँचविरुद्ध १४–२९ वर्ष समूहको आक्रोश मुख्य कारण भएको रिपोर्टमा उल्लेख छ।

८. डिजिटल समन्वय : फेसबुक, युट्युब र एक्समा अवरोधपछि युवाहरूले ‘डिस्कर्ड’मार्फत गोप्य योजना बनाएको दाबी गरिएको छ।

९. कमाण्ड सेन्टरको कमजोरी : कमाण्ड सेन्टरमा स्थिर इन्टरनेट र भिडियो फिड अभाव हुँदा वास्तविक अवस्था नबुझी आदेश दिएको आरोप छ।

१०. निषेधाज्ञा र तनाव : दिउँसो १२:३० बजे निषेधाज्ञा जारी भए पनि प्रदर्शनकारी संसद गेटसम्म पुगेको उल्लेख छ।

११. श्रीयम चौलागाईंको घटना : १७ वर्षीय श्रीयम शान्त रूपमा फर्किरहेका बेला पछाडिबाट गोली लागेको दाबी गरिएको छ।

१२. परिवारको पीडा : श्रीयमका अभिभावकको भावनात्मक बयान रिपोर्टमा समावेश छ।

१३. संसदभित्रबाट गोली : संसद गेटभित्रबाट बाहिरको भीडतर्फ ७ पटक गोली चलेको भिडियो दाबी गरिएको छ।

१४. पहिलो मृत्यु – विनोद महर्जन : दिउँसो १:१५ बजे ३४ वर्षीय विनोद महर्जन टाउकोमा गोली लागेर ढलेको उल्लेख छ।

१५. १९ जनाको मृत्यु : भदौ २३ मा मात्रै काठमाडौंमा १९ जनाको मृत्यु भएको दाबी छ, धेरैलाई टाउको र छातीमा गोली लागेको भनिएको छ।

१६. भोलिपल्ट देशव्यापी हिंसा : काठमाडौं घटनापछि देशभर आगजनी र हिंसा भड्किँदा ३ प्रहरीसहित थप जनधनको क्षति भएको उल्लेख छ।

१७. सरकारको पतन : चर्को दबाबबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएको दाबी गरिएको छ।

१८. कुल ७७ जनाको मृत्यु : काठमाडौं र देशव्यापी घटनामा गरी ७७ जनाको ज्यान गएको उल्लेख छ।

१९. जिम्मेवारी विवाद : तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत उच्च नेतृत्वले एकअर्कालाई दोष देखाएको तर कसैले प्रत्यक्ष जिम्मेवारी नलिएको दाबी छ।

२०. न्यायको प्रतीक्षा : छानबिन आयोग गठन भए पनि कसैलाई कानुनी कारबाही नभएको र पीडित परिवार न्यायको प्रतीक्षामा रहेको उल्लेख छ।

उक्त रिपोर्ट सार्वजनिक भएपछि नेपालमा राजनीतिक, कानुनी र मानवअधिकार सम्बन्धी बहस पुनः तीव्र बनेको छ। नेपाल प्रहरीले भने रिपोर्टका केही अंशलाई अस्वीकार गर्दै आधिकारिक नभएको बताएको छ।

प्रतिक्रिया

Leave a Reply