काठमाडौंमा निर्वाचन अवधिभर मदिरा बिक्री र सवारी सञ्चालनमा कडाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०८२, शुक्रबार ०७:०७

काठमाडौं ।  निर्वाचन आयोग नेपाल ले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

आयोगका अनुसार गृह मन्त्रालय लाई आवश्यक निर्देशन दिइसकिएको छ। निर्णय निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित सुरक्षा योजनाअनुसार गरिएको हो।

आचारसंहिता कडाइका साथ लागू

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिलाई तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेधित कार्य भए तत्काल कारबाही गर्न र आयोगलाई जानकारी गराउन भनिएको छ।

सवारी सञ्चालनमा रोक

सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइने भएको छ।

तर निम्न सवारीसाधन सञ्चालनमा रोक नलाग्नेछ :

  • एम्बुलेन्स, दमकल, शववाहन

  • रक्तसञ्चार सेवाका साधन

  • सुरक्षा निकायका सवारी

  • विद्युत्, खानेपानी तथा ढल मर्मतका सवारी

  • दूरसञ्चार मर्मतका सवारी

  • कूटनीतिक नियोगका सवारी

  • पास प्राप्त सवारीसाधन

मतदानका दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत सञ्चालन हुनेछ। टिकट भएका यात्रुलाई विमानस्थल–घर वा होटल आवतजावतमा सहजीकरण गरिनेछ।

मतदान गर्न आवश्यक कागजात

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले निम्नमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्नेछन् :

  • मतदाता परिचयपत्र

  • नेपाली नागरिकताको प्रमाणपत्र

  • राष्ट्रिय परिचयपत्र

  • राहदानी

  • जग्गाधनी प्रमाणपूर्जा

  • सवारी चालक अनुमतिपत्र

मतदाता नामावलीमा नाम भएका नागरिकले मात्र मतदान गर्न पाउनेछन्।

पास वितरण एकाइ

मतदानका दिन निर्वाचन आयोग नेपालजिल्ला प्रशासन कार्यालय काठमाडौँ बाट जारी हुने सवारी पासका लागि आयोग परिसरमा छुट्टै वितरण एकाइ स्थापना गरिनेछ। त्यसमा आयोग र जिल्ला प्रशासन कार्यालयका दुई–दुई जना कर्मचारी खटाइने जनाइएको छ।

आयोगले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply