उपचारका लागि पर्याप्त रकम जुट्यो: साबित्रा भण्डारी ‘साम्बा’द्वारा सहयोग रोक्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०८२, बुधबार ०६:३४

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि आवश्यक रकम संकलन भइसकेको भन्दै थप आर्थिक सहयोग नगर्न आग्रह गरेकी छन्।

सोमबार उपचारका लागि सहयोग अपिल गरेकी साम्बाको खातामा २४ घण्टाभित्रै अपेक्षाभन्दा बढी रकम जम्मा भएको हो। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत समर्थकहरूप्रति आभार व्यक्त गर्दै अब सहयोग रोकिदिन अनुरोध गरेकी हुन्।

साम्बाका अनुसार, “मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा करिब ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ। प्रायोजन गर्ने संस्था तथा विभिन्न संघ–संस्थाले पनि नगद तथा सुविधा सहयोगको प्रतिबद्धता जनाउनुभएको छ। यसले मेरो उपचार खर्च मात्र नभई कतारमा आवास र यातायात खर्चसमेत पूरा गर्न पर्याप्त देखिन्छ। त्यसैले आजबाटै दुवै खातामा सहयोग रोकिदिन अनुरोध गर्दछु।”

उनका समर्थक, संघ–संस्था तथा नेपाल र विदेशमा रहेका शुभेच्छुकबाट उल्लेखनीय आर्थिक सहयोग जुटेको थियो।

साम्बाले यस सहयोगले आफूलाई शल्यक्रिया र पुनर्स्थापनामा पूर्ण मनोबलका साथ अघि बढ्न प्रेरणा दिएको बताएकी छन्। “खेलाडीको वास्तविक सम्पत्ति पैसा वा उपाधि होइन, समर्थन, माया र विश्वास हो,” भन्दै उनले सबै सहयोगीप्रति धन्यवाद व्यक्त गरिन्।

चोटले शारीरिक मात्र नभई मानसिक चुनौती पनि दिएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले आफूलाई थप हौसला मिलेको बताइन् र छिट्टै मैदानमा फर्किने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया

Leave a Reply