बुढानीलकण्ठ नगरपालिका र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच मुटु स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालनका लागि सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०८२, शुक्रबार ०८:१०

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडा र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीबीच मुटुरोग सम्बन्धी उपचार सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता सम्पन्न भएको छ।

स्थानीय बासिन्दालाई लक्षित गर्दै नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएको ‘संवेदनशील मुटु स्वास्थ्य सुरक्षा’ प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गर्न दुवै पक्षबीच औपचारिक सहमति भएको हो।

सम्झौताअनुसार बुढानीलकण्ठ नगरपालिकाभित्रका मुटुरोगी बिरामीलाई सहुलियतपूर्ण तथा सुलभ उपचार सेवा उपलब्ध गराइनेछ। विशेषगरी आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा जोखिम समूहका नागरिकलाई लक्षित गरी मुटु परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवामा सहजीकरण गरिने जनाइएको छ।

नगरपालिकाले स्थानीय तहबाट स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विशेषज्ञ सेवा प्रदान गर्ने संस्थासँग सहकार्य बढाएको जनाएको छ। उता, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विशेषज्ञ चिकित्सक र प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

यस कार्यक्रममार्फत मुटुरोगको समयमै पहिचान, रोकथाम र उपचारमा सहजता आउने तथा स्थानीय नागरिकले राजधानीमै रहेको विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply