सुँगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम, किसानलाई उच्च सतर्कता अपनाउन आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०८२, शुक्रबार ०६:५९

काठमाडौँ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सुँगुर तथा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर (एएसएफ) को जोखिम देखिएकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार हालसम्म यस रोगविरुद्ध कुनै खोप उपलब्ध छैन। त्यसैले सुँगुर तथा बङ्गुर पालन फार्ममा कडाइका साथ जैविक सुरक्षा उपाय अपनाउन र अस्वाभाविक रूपमा पशु मरेमा तत्काल संघ, प्रदेश वा स्थानीय तहका पशु सेवा केन्द्र तथा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।

घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा विषाणुका कारण लाग्ने यस रोगमा १०४ देखि १०७ डिग्रीसम्म उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको छाला रातो हुने जस्ता लक्षण देखिन्छन्। शरीरमा निलो धब्बा देखिनु, खाना नखानु, बान्ता गर्नु र छट्पटाउनु पनि प्रमुख संकेत हुन्।

मन्त्रालयअन्तर्गत कृषि सूचना तथा प्रशिक्षण केन्द्रका डा. सञ्जीव पण्डितका अनुसार रोगबाट पशुको मृत्युदर उच्च भए पनि मानिसमा भने नसरिने स्पष्ट पारिएको छ। सङ्क्रमित पशु वा तिनका पाठापाठीको सम्पर्कमा आएका मासुजन्य वस्तु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्दा संक्रमण फैलिने जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

केन्द्रका अनुसार नेपालमा तीन वर्षअघि पहिलो पटक अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा १० हजारभन्दा बढी सुँगुर तथा बङ्गुरमा संक्रमण फैलिएको विवरण रहेको छ।

प्रतिक्रिया

slot gacor