फागुन २१ को निर्वाचनमा एमालेको विजय कसैले रोक्न सक्दैन : आनन्द पोखरेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० माघ २०८२, बिहीबार १८:२८

काठमाडौं। नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन्। एक लिखित धारणा सार्वजनिक गर्दै उनले उक्त निर्वाचनलाई सत्ता परिवर्तनको प्रक्रिया मात्र नभई देशको स्वाधीन र आत्मनिर्भर राजनीतिक दिशा तय गर्ने निर्णायक घडीका रूपमा व्याख्या गरेका छन्।

पोखरेलले एमालेको जितलाई ‘सार्वभौमसत्ता र नेपालीको जित’ भएको दाबी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा एमाले देशी–विदेशी शक्ति, प्रतिस्पर्धी दल तथा विभिन्न प्रतिक्रियावादी स्वार्थको दबाबमा परेको अनुभूति कार्यकर्ता र समर्थकले गरिरहेको उल्लेख गरेका छन्। उनका अनुसार यस्तो घेराबन्दी चिर्दै निर्वाचन जित्न भावनात्मक नाराभन्दा राजनीतिक, संगठनात्मक र व्यवहारिक कदम आवश्यक छ।

“यो केवल निर्वाचन प्रक्रिया जस्तो देखिए पनि सारमा नेपाली मूलधारको राजनीतिबाट एमालेलाई बाहिर धकेल्ने षड्यन्त्र हो,” उनले भनेका छन्, “यो हाम्रो पार्टी, केपी ओली, मार्क्सवाद र राष्ट्रियताविरुद्धको अभियान हो।”

उनले एमालेमाथिको दबाब पार्टीको कमजोरीका कारण नभई राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र स्थायित्वको राजनीतिप्रतिको दृढ अडानका कारण आएको जिकिर गरेका छन्। बाह्य शक्तिसामु नझुक्ने नेतृत्व स्वार्थ साधनको बाधक बनेकाले निर्वाचनमार्फत एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको उनको आरोप छ।

भदौ २४ को ‘विध्वंस’पछि सुरु भएको राजनीतिक क्रमकै निरन्तरता वर्तमान निर्वाचन भएको उल्लेख गर्दै उनले यसलाई एमालेविरुद्ध प्रयोग गर्न खोजिएको ‘हतियार’को संज्ञा दिएका छन्।

इतिहासमा कम्युनिष्ट आन्दोलनले घेराबन्दी र दमन सामना गर्दै विजय हासिल गरेको स्मरण गराउँदै उनले एमाले कुनै पनि प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन्। “हाम्रो मार्गदर्शन जनताको बहुदलीय जनवाद हो। प्रतिस्पर्धामार्फत जनताको मत, विश्वास र सहभागिताबाट राजनीति गरेका छौं,” उनले उल्लेख गरेका छन्।

पोखरेलले २०४८ सालदेखि ‘जनताको भट्टिमा खारिएर’ आएको एमालेको विजय यसपटक पनि सुनिश्चित रहेको दाबी गरेका छन्। निर्वाचन जित्ने आधार गठबन्धन वा अनुचित लेनदेन नभई जनताको बलियो समर्थन भएको उनको भनाइ छ।

आगामी निर्वाचनमा महँगी, रोजगारी, किसान–मजदुरका समस्या, विकास–समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्नुपर्ने उनले बताएका छन्। युवाको विश्वास जित्न स्पष्ट कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै सीप, उद्यमशीलता र प्रविधिमा आधारित अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन्। “युवाले भाषण होइन, भविष्यको खाका खोजिरहेका छन्,” उनले भनेका छन्, “अवसरका लागि विदेश होइन, देशमै सम्भावना सिर्जना गर्ने दृष्टि एमालेले प्रस्तुत गर्नुपर्छ।”

उनले पार्टीभित्र आन्तरिक एकतालाई पहिलो शर्त भन्दै ‘निर्णायक संघर्षमा पार्टीको निर्णयभन्दा माथि केही हुँदैन’ भन्ने सन्देश दिएका छन्। सबै पार्टी शक्तिलाई एकताबद्ध भएर निर्वाचनमा जुट्न आह्वान गर्दै उनले भनेका छन्, “यो चुनाव कुनै एक दलको मात्र होइन, जनताको सार्वभौम अधिकार र लोकतन्त्रको भविष्यसँग जोडिएको विषय हो। एमालेको जित नै सार्वभौमसत्ता र नेपालीको जित हो।”

प्रतिक्रिया

Leave a Reply