प्यासिभ स्मोकिङ: अरूको चुरोटको धुवाँले पनि बढाउँछ मुटु र फोक्सो रोगको जोखिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० माघ २०८२, बिहीबार ०७:११

काठमाडौँ । धूम्रपान नगर्ने मानिसहरू फोक्सो र क्यान्सरजस्ता गम्भीर रोगबाट सुरक्षित हुन्छन् भन्ने आम धारणा रहे पनि अरूले पिएको चुरोट वा बीडीको धुवाँ अनजानमै शरीरमा प्रवेश गर्दा त्यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । यस अवस्थालाई ‘प्यासिभ स्मोकिङ’ अर्थात् परोक्ष धूम्रपान भनिन्छ ।

विज्ञहरूका अनुसार चुरोटको धुवाँमा ७ हजारभन्दा बढी विषाक्त रसायन पाइन्छन्, जसमध्ये कम्तीमा ६९ प्रकारका तत्व क्यान्सर उत्पन्न गराउन सक्षम मानिन्छन् । यस्तो धुवाँ बन्द कोठा, कार्यालय वा सवारीसाधनभित्र लामो समयसम्म रहन सक्छ, जसले जोखिम झन् बढाउँछ । यसको असर विशेषगरी बालबालिका, गर्भवती महिला र वृद्धवृद्धामा बढी पर्ने बताइएको छ ।

अध्ययनअनुसार प्यासिभ स्मोकिङको सम्पर्कमा आएको करिब ३० मिनेटभित्रै रक्तनलीमा नकारात्मक प्रभाव देखिन थाल्छ । निकोटिन र कार्बन मोनोअक्साइडका कारण धमनीको भित्री तहमा क्षति पुग्दा मुटु रोग, हार्ट अट्याक तथा कोरोनरी रोगको जोखिम २५–३० प्रतिशतसम्म बढ्न सक्छ । यसैगरी धुवाँले फोक्सोका कोषिकामा असर पुर्‍याउँदा अस्थमा, ब्रोंकाइटिस तथा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) जस्ता समस्या निम्तिन सक्छन् ।

बालबालिकाको फोक्सो विकासक्रममा हुने भएकाले प्यासिभ स्मोकिङ उनीहरूका लागि ‘स्लो प्वाइजन’ सरह मानिन्छ । यसले कानको संक्रमण, निमोनिया तथा अचानक शिशु मृत्यु जोखिम (एसआइडिएस) बढाउन सक्छ । गर्भवती महिलामा समयपूर्व प्रसूति, कम तौलका शिशु जन्मिने तथा अन्य जटिलता देखिने सम्भावना रहन्छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार प्यासिभ स्मोकिङबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय धुवाँमुक्त वातावरण सुनिश्चित गर्नु हो । घर, कार्यस्थल तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधको कडाइका साथ पालना गर्न र जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply